निरस जीवनमा पलायो आशा

निरस जीवनमा पलायो आशा

परिवारमा एक्लिएका तर निकै जाँगरीला भुवन सिंजाली युवा उद्यमी बनेका छन् । २० बर्षको उमेरमै उनी आफू र १६ बर्षीय भाईको जीवन निर्वाह हुने पेसामा जुटिसकेका छन् । युथ एक्सन नेपाल उनको साहरा बनेको छ ।

‘युवाको सुखदुखमा साथ दिने सामाजिक संस्था पनि हुँदारहेछन भन्ने महसुस भयो’ भुवनले गम्भीर भावमा भने, ‘मैले स्वरोजगारको तालिम पनि पाएँ, थप आर्थिक सहयोग पनि पाएपछि जीवनको गोरेटो भेटाएको छु ।’ डेढ बर्षको उमेरमा बुबाको मृत्यु भएपछि उनका पीडाका दिन सुरु भएका थिए । निर्दयी समय यति कठोर बन्यो कि उनले आमाको साथ पनि गुमाउनु प¥यो । भुवन तीनबर्षका थिए जतिबेला आमाले उनलाई छाडेर अर्कैसंग हिडेकी थिईन् । सानै उमेरमा दुःख बेहोरेका भुवनलाई जीवन निकै निरस लागेको थियो । तर समय सुध्रेको छ । उनी अहिले जीवन आशापूर्ण बनेको बताउँछन् । उनका खुसीका दिन सुरुभएका छन् । खुसी फेरी फर्केर आएको महसुस गर्दैछन् यी २० बर्षे तन्नेरीले ।

सानो लगानीमा पनि जाँगरले कर्म गरे सफल बन्न बेरै लाग्दैन भन्ने प्रतिनिधि पात्र बनेका छन् भुवन । कक्षा १२ पढ्दै गरेका भुवनलाई युथ एक्सन नेपालले २० हजार रुपैयाँ अनुदान सहयोग गरेपछि उनले आफ्नै गाउँ देवीनगरमा मासु बिक्री पसल खोलेर राम्रो आम्दानी गरेका छन् । उनले पढाईलाई निरन्तरता दिँदै मासु व्यवसायबाट जीवन निर्वाहका साथै भोलीको भविष्यका लागि बचत समेत गर्न भ्याएका छन् । युथ एक्सन नेपालले दिएको २० हजारले भुवनले फ्रिज किनेका हुन् । फ्रिज नहुँदा मासु बिक्रीको पेसा थाल्न सम्भवनै नभएको र फ्रिज किन्ने पैशा आफूसंग नभएको भुवनले सुनाए । स्थानीय समाज सुधार युवा सञ्जालका सदस्य समेत रहेका उनलाई पारिवारिक आड नभएका र संस्थाको युवा स्वरोजगार कोषबाट युवा उद्यमीलाई सहयोग गर्न सकिने आधार भएका कारण संस्थाले उनलाई सहयोग गर्ने निर्णय गरेको युथ एक्सनका जिल्ला संयोजक कृष्ण कार्कीले बताए ।

गाउँमा मासु पसल खोल्न उनले थप १५ हजार रिण गाउँकै साहुसंग लिएका थिए । उनले लिएको रिन ४ महिनामै चुक्ता गरिदिए । अहिले उनी दैनिक २ हजारको मासु बिक्री गर्छन जसबाट सजिलै मासिक ७ हजारसम्म नाफा हुने भुवन बताउँछन् । पसल थालेको एकबर्ष पुग्न आँटेको छ । मातृभुमि उच्चमाविका शिक्षा संकायका विद्यार्थी समेत रहेका भुवन गाउँमै नमूना बनेका छन् । उनको प्रगतिले गाउँमा अरु युवालाई पनि जाँगर छुटेको बताउँछन् स्थानीय समाजसेवी मेहर सिंह थापा ।

युथ एक्सनकै समन्वयमा चेन्ज फ्युजन नेपालले दाङ जिल्लामा आयोजना गरेको स्वरोजगार तालिममा उनी सहभागी थिए । तालिममा सानो लगानीमा स्थानीय स्तरमा व्यवसाय सुरु गरेर कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने ज्ञान पाएको उनले बताए । भुवन भन्छन्, ‘मैले बंगुर पाल्ने पेसा गर्ने योजना पनि बनाएको थिएँ ।’ उनले भने ‘धेरै लगानि लगाउनु पर्ने अनि प्रतिफल पाउन पनि लामै समय कुर्नु पर्ने भएकाले मलाई ठिक लागेन ।’ मासु व्यवसाय सुरु गर्न नसकेको भए सायद आफू स्वदेशमा वा विदेशमा अरुको गुलामी गर्नु पर्ने अवस्था आउने उनी बताउँछन् । तर अहिले उनी पढाई संगै व्यवसायमा रमाएका छन् ।

‘आमाबुबा लाई गुमाएपछि हामी बेसाहारा बनेका थियौं ।’ भुवनले दुःख सुनाए ‘भाई ८ पढ्दै भाँडा माझ्न होटलमा भर्तीभएपछि उसको पढाई रोकियो । म यस्तो अवस्था देखेर धेरै रोएँ । मैले निचोल निकालेँ हामी आफै केहि गर्नुपर्छ । त्यसैले मैले गाउँमा व्यवसाय थालेँ ।’ चार दाजुभाई र एक दिदी मध्ये दुई दाजुहरु छुट्टिएर तराईतिर बस्छन्, दिदीको बिहे भएको हो । ६ बर्षसम्म एक्लै बसेर भुवनले गाउँमा पढेका हुन् । भाई तराईमा अन्य दुई दाजुहरुसंग बस्थे । तर भाईले त्यहाँ पढ्ने वातवरण नपाएपछि भाँडामाझ्ने जागिर थालेको भुवनले बताए ।

बुबाआमा गुमाएर अत्यन्तै कष्टपूर्ण बाल्यकाल र किशोरावस्था गुजारेका भुवनको युवा अवस्था भने सुधारिँदो छ । उनी अहिले आएर बल्ल जीवनको सानोसानो खुसीको खोजिमा छन् । यो पंक्तिकारसंग कुरा गर्दा भुवनलाई चिनको खासा पुग्ने हतारो थियो । गाउँका साथीसंग मिलेर उनी खासामा भ्रमण जान हिडेका हुन् । ‘पहिले कहिल्यै घुम्न पाईएन, देश दुनियाँ देख्ने रहर मनमै थिचेर बस्नु प¥यो ।’ खासा यात्रामा हिडेका भुवनले हसिलो मुहार लगाउँदै भने ‘संघर्ष पनि गर्ने र रमाईलो पनि गर्ने, सायद यहि नै जीवन होला । बाईबाई ।’