राष्ट्रिय युवा परिषद् गठन गर

2011-08-11

राष्ट्रिय युवा परिषद् गठन गर

२०६८ साउन २६ गते

सन्दर्भ : अन्तर्राष्ट्रिय युवा दिवस

नेपाल सरकारले २०६६ माघमा जारी गरेको राष्ट्रिय युवा नीतिमा युवा शक्तिलाई राष्ट्रको अमूल्य सम्पत्ति र परिवर्तनको वाहकको भनी उल्लेख गरिएको छ । युवा नीतिमा आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवर्तनका संवाहक शक्ति भनी परिभाषित गरिएको भए पनि नीति निर्माताहरूले अझै पनि युवाहरूलाई उचित ठाउँ दिन कञ्जुस्याइँ गरिरहेका छन् । युवालाई व्यवहारिक रूपमा परिवर्तनका सम्वाहक स्वीकार गरी नीति निर्माण तहमा अर्थपूर्ण सहभागिता बिना देश विकास सम्भव नहुने यर्थाथलाई हृदयगम गर्न ढिलाइ गर्नु हूँदैन । । देशमा भएका राजनीतिक परिवर्तनका प्रमुख सहयात्री भनेका युवा नै हुन् भन्ने यथार्थ प्रति कसैले आँखा चिम्लनु हँदैन ।

बेरोजगारी, बढ्दो महँगी, असमानतालगायतका कारण देखिएको निराशाले विभिन्न आपराधिक गतिविधिमा युवाहरूको संलग्नता देखिएको भनी समाचारहरू प्रकाशित तथा प्रशारित हुने गरेका छन् । रोजगारीको अवस्था सृजना नगर्ने हो भने अपराधका यस्ता गतिविधिमा युवाको सङ्ख्या दिनप्रतिदिन बढ्न सक्छ भने रोजगारीको नाममा ठूलो सङ्ख्यामा विदेश पलायन हुनुपर्ने अवस्था आउनसक्छ ।  औद्योगिक, निजामती, कृषि तथा पर्यटन क्षेत्रमा बढीभन्दा बढी रोजगारीको अवस्था सृजना गर्नु नै युवालाई सहीमार्गमा ल्याउने एउटा मार्ग हुनसक्छ । यसको लागि राजनीतिक इच्छाशक्तिको खाँचो छ ।

राष्ट्रिय युवा नीति, २०६६ को दफा ८ को १ ले युवा नीतिमा उल्लेख गरिएका विषयहरूको कार्यान्वयनको लागि युवा परिषद् ऐन जारी गरी युवा नीति कार्यान्वयन गरिनेछ भनेर उल्लेख छ । अन्तर्राष्ट्रिय युवा दिवस २०११ को उपलक्ष्यमा माथि उल्लेखित समस्या हल गर्न युवा परिषद् ऐन चाँडो भन्दा चाँडो जारी गरी राष्ट्रिय युवा परिषद् गठन गर्न नेपाल सरकारसँग हामी जोडदार माग गर्दछौँ ।

अन्तर्राष्ट्रिय युवा दिवस अगस्ट १२ को सन्दर्भमा हामी सम्पूर्ण युवाहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

गोपीकृष्ण भट्टराई
महासचिव