हातेमालोले नयाँ जीवन

हातेमालोले नयाँ जीवन

‘सोचे जस्तो हुन्न जीवन….’ भनेझैं यज्ञप्रसाद सापकोटाको जीवनमा पनि त्यस्तै भयो । ऋणधन गरेर विदेश पुगेका सापकोटाले दुईचार पैसा कमाएर घर फर्कौँला सोचेका थिए । तर त्यसो भएन ? पैसा कमाउन  गत बर्षको चैत महिनामा विदेशिएका चौमाला–८ राजीपुरका ३२ बर्षीया सापकोटा एक महिनामै घर फर्किए । रोजगारीका लागि विदेश पलायन भएका यज्ञप्रसाद विरामीले थलिएपछि घर फर्कन बाध्य भएका हुन । उनी भन्छन्,‘काम गर्न जुन कम्पनीमा पुगेको थिएँ । त्यहाँ भनेजस्तो काम पनि पाइएन । विरामी पनि भएँ ।’ उनलाई विरामी भन्दा विदेश जान निकालेको ऋणधनको चिन्ताले पिरोलिरहेको थियो ।

मर्नु न बाँच्नुको दोसाँधमा पुगेका यज्ञप्रसादलाई कति छिटो घर पुगौँला भन्ने पिरलो भइरह्यो । घर फिर्न उनीसित नत पैसा नै थियो नत कोही नजिकको आफन्त नै थियो । साथीहरूको विशेष सहयोगले उनी जसोतसो घर आइपुगेको बताउछन् । ऋणधन तिरेर धन कमाउने सपना बोकेका सापकोटाको थाप्लोमा आर्थिक बोझ झनै थपियो । आर्थिक र मानसिक रोगले घरमै थलिएका यज्ञप्रसाद स्थानीय साथीहरूको सम्पर्कमा आए । उनका साथीहरुले युवा कार्यले सहयोग गर्छ भनेपछि गत बैशाखमा युथ एक्सनसँग जोडिए । सापकोटालाई युवाकार्य नेपालको आयोजनामा हुने सबै कार्यक्रममा सहभागी गराइयो ।

आर्थिक अवस्था कमजोर भएका तथा व्यवसाय संचालन गर्न चाहने युवालाई युवाकार्य नेपालले आर्थिक सहयोग गर्ने योजना युवा सञ्जाललाई थाहा भयो । चौमाला युवा सञ्जालले यज्ञप्रसाद सापकोटाको कमजोर आर्थिक अवस्था देखेर उनलाईलाई सहयोग गर्न सञ्जालले युवाकार्य नेपाललाई सिफारिस ग¥यो । केहीगर्न सक्ने अाँट उनमा पलाएपछि सञ्जालले उनको नाम सिफारिस अध्यक्ष रामचन्द्र आचार्य बताउँछन् ।

त्यही सहयोग आफ्ना लागि बरदान भएको सापकोटाको अनुभव छ । युवाकार्यले सहयोग गरेको रकम २० हजार रुपैयाँबाट उनले स्थानीय राजीपुर बजारमा होटल सञ्चालन गरे । गत जेठ २४ गतेबाट होटल संचाल गरेका  साप्कोटाले होटल व्यवसायकै आम्दानीले आर्थिक बोझ कम हुँदै गएको बताए ।

युथ एक्सनको २० हजार सहयोगबाट होटेल व्यवसाय शुरु गरेका सापकोटाले अहिले ६५ हजार रुपैयाँ बराबरको व्यवसाय बनाएका छन् । होटेल व्यवसायमा लगानी थपिँदै गएको छ, व्यवसायबाट भएको आम्दानीले ऋण घट्दै  गएको भन्दै उनले थपे,‘युथ एक्सनले बाटो देखाइदियो, यसैका कारण म यो अवस्थामा पुगेको छु । तीन छोराछोरीलाई स्कूल पढाउन, खान, लगाउन मलाई गाह्रो परेको छैन ।’

यज्ञप्रसादको एक्लो आम्दानीबाट ६ जनाको परिवार पालिँदै आएको छ । होटेल व्यवसाय शुरु गरेपछि विदेश जानेबेला लिएको ऋणधनमध्ये ४५ हजार रुपैयाँ तिरेको उनको भनाइ छ । गत जेठ महिनाबाट व्यवसाय शुरु गरेका यज्ञप्रसादले युथ एक्सनको २ किस्ता ऋण रकम फिर्ता गरिसकेका छन् । उनी भन्छन् –मैले होटल व्यवसायबाट मासिक १५ हजार रुपैयाँ जति कमाउने गरेको छु ।

छोटो अवधिमा यज्ञप्रसादको प्रगति देखेर चौमाला ८, राजीपुरका स्थानीय कैयौं बासिन्दा प्रशंसक बनेका छन् ।